आज : Sunday, September 13, 2026 | २०८३ भदौ २८ आइतबार

दोर्दीका खोला तथा नदीमा माछा मार्न भदौ ३० गतेभित्र सूचीकृत हुनुपर्ने 

लमजुङ ।
दोर्दी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका नदी तथा खोलामा माछा मार्न चाहने व्यक्तिका लागि वार्षिक सूचीकृत (दर्ता) हुनुपर्ने व्यवस्था गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै दोर्दी, किसेदी, छ्याङ्दी लगायत गाउँपालिका क्षेत्रभित्रका नदीमा जाल वा बल्छी प्रयोग गरी माछा मार्न इच्छुक व्यक्तिले भदौ ३० गतेभित्र सूचीकृत हुनुपर्ने जनाएको हो। सूचीकृत भएपछि गाउँपालिकाले सूचीकरण निस्सा (प्रमाणपत्र) उपलब्ध गराउने जनाएको छ।

गाउँपालिकाका अनुसार केही व्यक्तिले अनधिकृत रूपमा विषादी लगायतका सामग्री प्रयोग गरी माछा मार्दा जलचर, जैविक विविधता तथा जल पर्यावरणमा क्षति पुगेको र यसबारे जनगुनासो बढ्दै गएको छ। सोही कारण आर्थिक ऐन, २०८३ बमोजिम माछा मार्ने कार्यलाई व्यवस्थित गर्न वार्षिक सूचीकृत गर्ने व्यवस्था गरिएको हो।

सूचीकृत हुन इच्छुक व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपि, रु. ५० तिरेको सक्कल भौचर र दोर्दीवासी भएको प्रमाण पेश गर्नुपर्नेछ। गाउँपालिकाले तोकिएको समयभित्र सूचीकृत नभई माछा मार्ने कार्य गरेमा आर्थिक ऐन, २०८३ बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

गाउँपालिकाको यो व्यवस्थाको उद्देश्य नदी तथा जलचर संरक्षण गर्नुका साथै स्थानीय बासिन्दाले माछा मार्ने कार्यलाई व्यवस्थित र वातावरणमैत्री बनाउनु रहेको छ। दोर्दी गाउँपालिकाले यसअघि पनि आफ्नो आधिकारिक सूचना तथा राजपत्रमार्फत विभिन्न स्थानीय कानुन तथा कार्यविधि सार्वजनिक गर्दै आएको छ।   

प्रतिकृया दिनुहोस