रातको समयमा बेँसीसहर–चामे–मनाङ सडकखण्ड बन्द गर्ने तयारी
बेँसीसहर ।
हिमाली जिल्ला मनाङ र लमजुङ जिल्ला जोड्ने एकमात्र सडकका रुपमा रहेको बेँसीसहर–चामे–मनाङ सडकखण्ड रातको समयमा बन्द गर्नेबारे तयारी सुरु भएको छ । विगत केहीदिन देखि परिरहेको अविरल वर्षाका कारण पटक-पटक अवरुद्ध हुँदै आएको यस सडकमा संभावित जोखिम कम गर्नका लागि रातको समयमा बन्द गर्नेबारे छलफल भईरहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साँझ साढे ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गर्नेगरी जिल्ला प्रशासन कार्यालयमा छलफल भईरहेको हो । यद्धपी यसबारे औपचारीक जानकारी आईसकेको छैन । सूचना निकालेर यसबारे औपचारीक जानकारी दिईने जनाईएको छ ।
यसैबीच लमजुङको मस्र्याङ्दी गाउँपालिका ४, श्रीचौरमा पहिरोले सडक बगाउँदा हिमाली जिल्ला मनाङ जानेआउने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । सो सडकमा गएराती पहिरो खसेको हो ।
करिव ३ सय मिटर माथिबाट आएको पहिरोले सडक बगाउनुका साथै पुरिएको स्थानीय पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउन ४–५ घण्टा नै लाग्न सक्छ । बेंसीसहरबाट करिव २३ किलोमिटरको दुरीमा पर्ने श्रीचौरमा यसअघि पनि पटक–पटक पहिरो आउनाले सडक अवरुद्ध हुने गरेको गुरुङले बताउनुभयो ।
लमजुङ जिल्ला प्रहरी प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ।
वर्षाको समयमा सकेसम्म विशेषगरी पानी परिरहेको समयमा यस सडकखण्डबाट यात्रा नगर्न प्रहरीको सुझाव छ । यस क्षेत्रमा विशेषगरी लमजुङको मर्स्याङ्दी गाउँपालिका र खरखरे भिर क्षेत्रमा पटक पटक पहिरो र लेदो खस्ने गरेकोले जोखिमयुक्त यात्रा गर्न यात्रुहरु बाध्य हुँदै आएका छन् । लमजुङको बेँसीसहरदेखि मनाङको चामे हुँदै मनाङ जोड्ने यो सडक हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र सडक हो । मर्स्याङ्दी नदीको किनारैकिनार अवस्थित यो सडक खण्ड अत्यन्तै जोखिमपूर्ण र साहसिक मानिन्छ ।







प्रतिकृया दिनुहोस