मध्यनेपाल नगरपालिकाले भाटबेशी घटनामा ज्यान गुमाएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने
बेँसीसहर ।
मध्यनेपाल नगरपालिकाको आकस्मिक विपद् व्यवस्थापन समितिको बैठकले वडा नं.७ भाटबेशीमा मंगलबार राती कुलो भत्किँदा बाबुछोरीको मृत्यु भएको घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
समितिले मर्स्याङ्दी गाउँपालिका–१ का स्व। टिकबहादुर विक र उनकी १५ वर्षीया छोरी स्व. विनिता विकको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइते शुकमाया विक र अस्मिता विकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। बैठकले मृतक दुवै जनाका लागि जनही १ लाख रुपैयाँका दरले कुल २ लाख रुपैयाँ विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेको छ।
त्यसैगरी, उपचाररत शुकमाया विक र अस्मिता विकको उपचारमा सहयोग पुर्याउने तथा पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
चितिखोलाबाट भाटबेंसीका लागि ल्याइएको कुलो मंगलबार बिहानपख करिब २ः३५ बजेतिर भत्किँदा स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पुरिएको थियो । धन्सार पुरिँदा धन्सारमा अस्थायी रुपमा बस्दै आउनुभएका लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ नायु घर भएका ५९ वर्षीय टिकबहादुर विक र उहाँकी १५ वर्षीया छोरी बिनिता विकको मृत्यु भएको थियो भने टिकबहादुरका श्रीमती ५० वर्षीया सुकमाया विक र १६ वर्षीया अस्मिता विक घाइते हुनुभएको छ । घाईतेहरुको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।





प्रतिकृया दिनुहोस